अखण्ड सम्बाददाता, डडेल्धुरा
सुदूरपश्चिमको प्रसिद्ध भगवती मेला उग्रतारा मेला कार्तिक १९ गते बुधवारका दिन लाग्ने भएको छ ।
श्री उग्रतारा क्षेत्र विकास समितिको कार्तिक १ गते शनिवार मेलाका लागि बसेको विशेष बसेको बैठकमा समितिका उपाध्यक्ष लोक बहादुर पालको संयोजकत्वमा ३० सदश्यीय मेला व्यवस्थापन समिति पनि गठन गरिएको क्षेत्र विकास समितिका अध्यक्ष तेज बहादुर साँकीले जानकारी दिएका छन ।
बैठकले १८ गते हुने रतेडी र १९ गते हुने दिउँसेडी मेलालाई भव्य र सभ्य रुपमा सुसम्पन्न गर्न शान्ति सुरक्षाका लागि जिल्लाका सुरक्षा निकायलाई अनुरोध गर्ने, मादक पदार्थको बिक्रि बितरण तथा सेवन गर्न नपाईने गरि विगत जस्तै चारकिल्ला निषेधित क्षेत्र निर्धारण र मेलामा खानेपानीको उचित व्यवस्थापन गर्ने, पसल राख्ने, सरसफाईका लागि गठित उप समितिलाई व्यवस्थापन जिम्मेवारी दिईएको पनि अध्यक्ष साँँकीले जानकारी दिएका छन ।
डडेल्धुरा जिल्लाको सदरमुकामबाट हालको अमरगढी नगरपालिका वडा नं. ८, डडेल्धुरा–बैतडी राजमार्गसँगै अग्लो रमणिय डाँडामा अवस्थित प्राचिन प्रसिद्ध श्री उग्रतारा माताको देवीस्थानका बारेमा बिभिन्न किंबदन्तीहरु रहे पनि परापूर्वकालमा नजिकै बसोबास रहेको लटाउली गाउँका साँकी परिवारको किसानले हलो जोत्दै गर्दा हलोको फालीमा देवीको शिला अडकिए पछि निरन्तर रगतको धारा बगेको रोक्न प्रयास गरेको र देवीले दर्शन दिएको भन्ने भनाई रहेको छ ।
आकस्मिक रुपमा प्रकट भएकी देवीले आफ्नो रुपको बारेमा किसानलाई ज्ञात गराएको र बग्दै गएको रगतलाई स्थानीय किसानले आफूले खान ल्याएको भोजनबाट साम्य पारेको भन्ने लोकश्रुति रहि आएकोमा तत्कालिन अवस्थामा स्थानीयको सरसल्लाह बमोजिम प्रकट भएको तिथि मितिका आधारमा कार्तिक शुक्ल पूर्णिमाका दिन हरेक वर्ष देवीको भव्य पूजाअर्चना गरिने परम्परा बमोजिम त्यस दिन देखि मेलाको रुपमा स्थापित हुदै आएको संस्कृतिबिदको भनाई छ ।
मेलाको अघिल्लो रात मन्दिरमा आउने चार देउराहरुले भंण्डारघर तथा भगवती खलामा रतेडि मनाएर मेलाका दिन ब्रह्म मुहुर्तमा चारै देउराको संगम गराई भित्र्याउने र देवीको प्रसादको रुपमा टिका तिलक प्रसाद दिने प्रचलन रहेको छ ।
स्वयं प्राकट्य शक्ति स्वरुपा प्रसिद्ध भगवती देवी श्री उग्रताराको मन्दिरमा कार्तिक शुक्ल पक्ष पूर्णिमाका दिन वर्षेनी लाग्ने मेलामा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा बसोबास गर्ने सर्बसाधारण श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ ।
डडेल्धुरा लगायत सुदूरपश्चिमका सिमाबर्ती जिल्लाका सर्बसाधारणका लागि पर्वको रुपमा मनाईने उग्रतारा मेला हेर्न लाखौं दर्शनार्थीहरु आउने गरेका छन ।






