अखण्ड सम्बाददाता
१३ साउन २०८० डडेल्धुरा
डडेल्धुरा र बैतडीको सिमानामा पर्ने खाल देहिमाण्डौ सर्मालि पन्चेश्वर सडक खण्डमा पर्ने सुर्नया नदीमा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।
वर्षौंदेखि गाडी चल्ने सुर्नया खोलामा मोटेरेवल पुलनहुँदा बैतडीका तिन पालिका र डडेल्धुराका २ पालिकाका स्थानीयवासी जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य भएका हुन ।
सुख्खा मौसममा भन्दा वर्षायामको समयमा नदी तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको भागेश्वर गाउँपालिकाका निबर्तमान वडाध्यक्ष रामबहादुर शाहीले वताउनु भयो ।
डडेल्धुरा सदरमुकामवाट सवै भन्दा वढी गाडी यो क्षेत्रमा चल्ने गरेका छन । काम विशेषले डडेल्धुरा सम्म पुग्न यही नदीबाट वारपार गर्नुपर्ने हुन्छ । वर्षातको समयमा नदीमा पानीको सतह बढने हुन्छ र ज्यान नै जोखिममा राखेर ओहोर दोहोर गर्नुपर्ने बाध्यतामा कुनै तहका सरकारले ध्यान दिएका छैनन ।
बैतडी देखि बगेर आउँने दुई जिल्लाको सिमाना नदीमा पुल नभएकाले गाउँ देखि टाढा रहेको विद्यालय पुग्ने बालबालिका होस वा सरकारी कार्यालय पुग्ने कर्मचारीलाई समेत ठूलै सकस भइरहेको शाहीको दुखेसो छ ।
नदीमा पुल नहुँदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान असाध्यै कठिनाइ हुने गरेकोे समस्याबारे पटकपटक जनप्रतिनिधिदेखि सांसद र मन्त्रीलाई सुनाएपनि चुनाव ताका आवश्वासन बाहेक केही नपाएको स्थानीयवासीको गुनासो छ ।