अखण्ड सम्बाददाता
७ अषाढ २०८१ डडेल्धुरा
स्वयं र समाजका लागि योग भन्ने मूल नाराका साथ डडेल्धुरामा पनि दशौं अन्र्तराष्ट्रिय योग दिवस भव्य रुपले सम्पन्न गरिएको छ ।
पतंजली योग समिति डडेल्धुरा, पतंजली महिला योग समिति, पतंजली युवा नेपालको आयोजनामा जिल्ला स्थित माउन्टेन बोर्डिङ स्कुल प्रांगणमा आयोजित दिवस कार्यक्रमको सुदूरपश्चिम प्रदेश पूर्व सामाजिक विकास मन्त्री गोबिन्द राज बोहराले उद्घाटन गर्नु भएको थियो ।
पतंजली योग समिति डडेल्धुराका अध्यक्ष समाजसेवी कैलाश कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको योग कार्यक्रममा अन्र्तराष्ट्रिय योग प्रोटोकल बमोजिमका योग अभ्यास तथा आसन र प्राणयामहरु गर्दै योग आयुर्बेद र सत्संगका बिबिध विषयमा चर्चा समेत गरिएको थियो ।
बर्तमान अवस्थामा योग हरेक नागरिकलाई अत्यन्त आवश्यक भएकोले योगलाई दैनिक जीवनको दिनचर्यासँग जोडनु पर्ने वक्ताहरुले सुझाएका छन ।
अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायत योग साधक, योग प्रशिक्षक सहित संयौं बिद्यालय छात्रछात्राको पस्थितिमा सम्पन्न भएको दिवस कार्यक्रमले व्यक्ति र समाजलाई स्वस्थ राखी मानविय चित्तबृतिलाई पनि आध्यात्मिक र सुसंस्कृत बनाउनेमा योग अभियानको उद्देश्य रहेको पतंजली योग समिति सुदूरपश्चिम प्रदेश सहप्रभारी गोबिन्द खडायतको भनाई थियो ।
दिवसकै अवसरमा पतंजली योग समिति डडेल्धुरामा आबद्ध योग प्रशिक्षकहरुबाट कारागार कार्यालय डडेल्धुरामा बन्दीगृहमा रहेका बन्दीहरुलाई तिन दिन सम्म योग प्रशिक्षण भई आज समापन गरिएको छ ।
