अखण्ड डायरी
बैशाख ३०, २०८१ डडेल्धुरा
सुदूरपश्चिमको केन्द्र मानिने डडेल्धुरामा दर्जनौं महत्वाकांक्षी विकास योजनाहरु गुमनाम भएका छन ।
कषि उद्यम पर्यटन विकासका लागि प्रचुर संभावना हुँदाहुँदै पनि डडेल्धुराको भविष्यको रेखा कोर्ने र डडेल्धुराको पहिचान प्रस्तुत हुने कुनै पनि बस्तु तथा संरचना डडेल्धुराका लागि एकादेशको कथा बाहेक अरु केहि हुन सकेन ।
डडेल्धुरामा कुनै बेला केहि समय अगाडी मात्र डडेल्धुराको कषि उपजलाई व्यवस्थित गर्ने र उपभोक्तालाई सर्बसुलभ ढंगले बजारमा ताजा तरकारी फलफूल पाउने एकिकृत कृषि बजार अथवा हाट बजार पनि करोडौं लगानीमा स्थापना भयो तर आजको डडेल्धुरा नयाँ पुस्ताका लागि पत्याउनै नसकिने विषय बन्यो भन्दा अतिशयुक्ति नहोला ।
डडेल्धुराका कृषकलाई व्यस्थित तरकारी बिक्रि बितरण गर्ने र उपभोक्ताले सर्बसुलभ रुपमा पाउने उद्देश्यले दुई दशक अघि स्थापना गरिएको भनिएको हाट बजार आज धेरैको मानसपटलबाट हटिसकेको जस्तो छ , तरकारी उत्पादनमा डडेल्धुरा अग्रणि भए पनि डडेल्धुरामा सधै अभाव, अव्यवस्थित र महंगी भईरहने उपभोक्ताको भनाईलाई नकार्न सकिदैन । स्थानीय बजार तथा उपभोक्ताको आवश्यकतालाई परिपूर्ति गर्न उद्योग बाणिज्य संघको पहलमा उद्योग बाणिज्य संघकै परिसरमा हाट बजार संचालन गरियो तर दिगो र प्रभाबकारी नहुँदा राज्यको करोडौं लगानी प्रत्युत्पादक मात्र नभई निर्माण भएका संचनाहरु पनि प्रयोगबिहिन र जिर्ण बन्दै गएका छन ।
डडेल्धुरा दुध उत्पादनमा सुदूरपश्चिमका अरु जिल्ला भन्दा अग्रणि मानिन्छ, डडेल्धुरामा दुध दहि, घिउ र मिठार्ई लगायतका दुग्धजन्य उत्पादनहरु र चिजबस्तु लागि सहजै र सस्तो मूल्यमा उपलब्ध हुने गर्दथ्यो तर डडेल्धुरामा दुई दशक अघि दुग्धजन्य उत्पादन गर्ने दुग्ध डेरी पनि एक असफल योजनाको रुपमा रहेको छ । अमरगढी नगरपालिकाको पोखरा बजार, भात्काँडा बजार र हालको नवदुर्गा गाउँपालिका डाँडावन देखि दूध संकलन गरि उग्रतारा डेरीका नाममा संचालन भई पाउचमा दूध उत्पादन तथा बितरण गर्ने संस्था आज अलपत्र परेको छ ।
२०६०को दशमा चर्चित उग्रतारा डेरीमा रहेका करोडौंका उपकरण मेसिन औजार तथा सामग्रीहरु कहाँ र कुन अवस्थामा छन कसैलाई थाहा छैन र कसै निकायले वा सरोकारवाला किसान तथा आम नागरिकले खोजी निति र संचालनका लागि कुनै संस्था तथा सरकारी निकायको ध्यान गएको छैनन ।
यस्तै डडेल्धुरामा छाडा पशुचौपाया संरक्षण र व्यवस्थापनका लागि खोलिएको कान्जीहाउस पनि अधिकांशको सामान्य जानकारीमा समेत छैन । यसका तत्कालिन संचालकहरु को थिए, कहाँ छन ? किन बन्द भयो ? कसको जिम्मा रहेको थियो किन संचालन हुन सकेन र बर्तमान परिबेशमा आवश्यक हुँदाहुँदै पनि किन कसैले अभिरुचि राखेका छैनन यसका पछाडी कारण र समस्या के हो ? समाधानका लागि प्रयास किन भईरहको छैन भन्ने कुरा यदाकदा सुनिन थाले पनि संंचालनको प्रयास भएको देखिदैन । आर्थिक पूर्बाधार निर्माण तथा व्यवसायिक उत्पादन र पहिचानका ति महत्वाकांक्षी योजनाहरु ओझेलमा परेका छन ।
पर्याप्त वन सम्पदा सहित ७५ प्रतिशत वन क्षेत्र रहेको छ, तर जिल्लामा घर निर्माण गर्र्ने व्यक्तिले सहजै काठपात पाउँदैनन । जसका कारण घर निर्माणमा घरधनीले फलामे र अल्मुनियम बस्तुको प्रयोग गर्नु पर्ने बाध्यता रहि आएको छ, साथै काठ दाउराको सहज उपलब्धता नहुँदा एलपी ग्याँसको प्रयोगकर्ता दिनप्रतिदिन बढदै गएका छन, जिल्लाले अर्थतन्त्रलाई टेवा पुग्ने खालका काठहरु व्यवस्थित गरेर बिक्रि गर्न सके राजश्व संकलन मात्र नभई स्थानीय उपभोक्तालाई पनि सेवासुबिधा पनि प्रदान हुने कुरा तर्फ राज्यको गम्भीर पहल हुनु पर्ने स्थानीय जानकार बताउँछन ।
डडेल्धुरा काष्ठ सँगै जडिबुटिका लागि पनि प्रसिद्धि भएको जिल्ला हो, पर्याप्त जडिबुटि भएको र सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा संकलन हुने जडिबुटिहरुलाई डडेल्धुरामै संकलन गरि प्रशोधन गर्ने गरि डेढ दशक अघि भात्काँडा नजिकै जडिबुटि प्रशोधन केन्द्र स्थापनाका लागि ठूलो तामझामका साथ वन मन्त्रालयका उच्च पदस्थ अधिकारीहरुबाटै कार्यक्रम घोषणा देखि शिलान्यास सम्म भए तर राज्यका सम्बन्धित निकायको तदारुकता र स्थानीयको ईच्छाशक्तिको अभावमा सार्थक रुप लिन सकेन ।
अहिले डडेल्धुरामा यस्ता बहुसंख्यक जनता लाभान्वित हुने योजनाहरुको माग गर्ने प्रचलन हटेको छ, बर्तमान समयमा व्यक्तिगत र सामूहिक लाभका योजनाहरु माग गर्ने, अनुदानका लागि अनुदान लिने, योजना मागका माध्यमबाट राजनीतिसँग जोडिएर नेताहरुसँग पहुँचका आधारमा सिमित व्यक्ति वा समुहले लाभ लिने संख्या अपबाद बाहेक दिनप्रतिदिन बढदै गएको छ ।
सरकारको अनुदान नीतिले व्यक्तिगत फर्महरु विकसित भएका छन केहि हद सम्म रोजगार प्रबद्र्धन गर्ने उद्देश्यले सकारात्मक रुपले व्यहारिक रुपमा क्रियाशिल पनि रहेका छन कृषकलाई प्रोत्साहन हुने गरि व्यवसायिक उद्यमीको रुपमा लाभान्वित पनि भएका छन तर व्यापक उद्देश्य राखेका संस्थाहरु तर्फ भने कुनै पनि तहका सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र आदीको गम्भीर रुपले बहश बिश्लेषण भएको छैन भने दिगो र आयमूलक कार्य योजना निर्माण तर्जुमा भएको देखिदैन ।
डडेल्धुरामा खोलिएका यि संस्थागत संरचनाहरु पुनःसंचालनका लागि स्थानीय सरकारले अग्रसरता लिनु पर्ने हुन्छ, कुरा व्यवस्थापन र पुनःसंचालनको मात्र नभई स्थानीय रोजगारी प्रबद्र्धन, कृषि क्षेत्रको उत्पादन र बितरण प्रणालीमा समेत गम्भीर असर पुगाउनुका साथै कृषि, उद्यम, व्यवसाय, रोजगार र स्वरोजगार क्षेत्रसँग जोडिएका सिपकलाहरु, स्थानीय श्रोतसाधनहरु र उत्पादनशिल जनशक्ति पलायन र प्रभावित हुँदै गएको छ ।
एकातिर जंगली जनाबरको आतंक, कृषि कर्म गर्नेको संख्या न्यून हुँदै जानु, हाते ट्रक्याटर जस्ता कृषि यान्त्रिकरणमा जानु र प्रबिधिको प्रयोग बढदै जानु, युवा जनशक्ति बिदेश तर्फ आकर्षित हुनु जस्ता विनाशकारी विकास गतिबिधिले गाउँबस्तीको बसोबासमा कमी आएको छ भने भएको श्रोतसाधनको उपयोग पनि स्थानीयको हितमा सदुपयोग नहुँदा नयाँ संचालन भएका उग्रतारा क्रिकेट मैदान होस वा जिल्ला समन्वय समितिको परिसरमा निर्माणाधिन सभाहल जस्तै विकासका अन्य संरचना तथा क्रियाकलापहरु माथी पनि प्रश्न चिन्ह नलाग्ला भन्न सकिदैन ।
ब्यापार व्यवसाय सिमित भईरहेको छ, प्राकृतिक श्रोतसाधनहरुको समुचित उपयोग हुन सकिरहेको छैन , जिल्लामा वर्षेनी अर्बों खर्बौं बजेट कार्यान्वयन हुने गरेको छ तर जिल्लाका साझा आवश्यकतालाई न कसैले पहिचान गरेको छ न कसैले अगुवाई । सबै स्थानीय तह आफ्नै भूगोल र आफ्नै निश्चित जनताको पेरीफेरीमा केन्द्रीत रहेका तर पनि आम जनताको गुनासाहरु यथोचित रुपमा सम्बोधन हुन सकिरहेको छैन । अपेक्षित रुपमा जनताले परिणामको अनुभूति गर्न नसक्दा बार्षिक पूँजिगत बजेट बालुवामा पानी सरह भएको स्थानीय विकास विज्ञको भनाई छ ।
जिल्ला सदरमुकाम जिल्लाका सात वटै स्थानीय सरकारको हो, जिल्लामा देखिने गरेर पूबाृधार निर्माण गर्नु सबै पालिकाको दायित्व पनि हो जसको उपभोग सबै पालिकाका नागरिक र आगन्तुक अथितिहरुले पनि गर्न पाउने छन, प्रत्यक्ष र परोक्ष रुपमा जिल्लाको अवस्थाका बारेमा सबैले बुझ्ने अवसर प्राप्त हुँदा गुणस्तर र सेवासुबिधामा सुधार भई आम सर्बसाधारणमा विकासको सामान्य अनुभूति पनि गर्न सकिन्थ्यो ।
हुन त सार्बजनिक निकाय प्रति स्थानीय तह र सबै तहका जनप्रतिनिधिको चासो घटदै गएको देखिन्छ अथवा अत्यधिक जनसरोकार तथा जनस्वास्थ्यको विषय अस्पतालमा पनि यथोचित ध्यान गएको देखिदैन । उदाहरणका लागि जिल्ला लगायत सुदूरपश्चिम प्रदेशका बिभिन्न स्थानबाट डडेल्धुरा सदरमुकाम आउँदा अस्पताल वा सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीका लागि के समस्या छ प्राप्त सेवासुबिधा प्रतिको प्रतिक्रिया के छ भनेर कसैले पनि अवलोकल अध्ययन र अनुगमन गरेका छैनन, आफ्ना नागरिकले सेवासुबिधा कसरी पाईरहेका छन, पाईरहेका छन कि छैनन किन पाउँदैनन कसको कमी कमजोरी र गल्ती त्रुटि भईरहेको छ सुधारका लागि के गर्नु पर्ला के सहयोग गर्न सकिन्छ आदी विषयमा सायदै छलफल न निर्वाचित जनप्रतिनिधिबाट न राजनीतिक बृतबाट यस्ता जनउत्तरदायी पहल प्रयासहरु भएको देखिदैन भने जिर्ण अवस्थामा रहेका उग्रतारा डेरी, जडिबुटि प्रशोधन केन्द्र वा अरु अधुरा र अलपत्र योजनाहरु तर्फ सार्थक पहल हुने कुरा आम जनताका लागि सपना जस्तै हुनेछ ।
त्यसैत संघियताका कारण डडेल्धुराको अस्तित्व संकटमा छ, यसमा पनि डडेल्धुरालाई बनाउने सोचको अभाव बिद्यमान छ, राजनीतिक मूल्यांकन र सहिष्णुता नदेखिने डडेल्धुरा जिल्लामा डडेल्धुरा गन्तव्य बनाउने र डडेल्धुरामै जीवन बिताउने नागरिकहरुका लागि उचित बाताबरणको संभावित खतरा बढेको छ, डडेल्धुरालाई कर्म थलो बनाउने राजनीतिक बृत र ट्रान्जिट प्वाईन्ट बनाउँदै व्यक्तित्व निर्माण गर्ने तथा सम्पति आर्जन गरेर पलायन हुने तर अरुलाई दोषारोपण गरेर उन्मूक्ति खोज्ने प्रबृति यतार्थ रुपमा सबैले अनुभव गरेकै छन ।
आज देश बनाउने सक्रिय जनशक्ति बिदेश तर्फ आकर्षित भएको छ, स्थानीय स्तरमा न रोजगार छ न लगानी तथा स्वरोजगारको बाताबरण नै, भएका लगानी संरचनाहरु पनि सरकारी नीति र कार्यशैलीका कारण बिस्थापित हुन थालेका छन, राज्यको लगानी पनि औचित्य विहिन बन्दै गएको छ, हिंडदै खोज मेटदैको अवस्था सिर्जना भईरहेको सबै सामु छर्लङ्ग छ । विकासको बर्तमान ट्रेण्डले ट्राई टु वान्स परिभाषित हुँदै गएको छ, जता गयो निरासै निरासाले केहि गर्न सकिन्छ कि भन्ने सोच भएका युवाहरुमा पलायनको सोच विकसित भएको छ तथापी गर्नेहरुले त जेनतेन गरेकै छन जुन सन्देश सुन्दर भविष्यका लागि सुखद, उत्साहजनक र आकर्षित हुन सकिरहेको छैन । यसर्थ पनि स्थानीय, प्रदेश र संघिय सरकारले यस्ता योजनाहरुलाई पुन संचालन वा नयाँ योजना परिचालन तथा कार्यान्वयनका लागि संबेदनशिल रुपमा लिनु अपरिहार्य देखिन्छ ।
भूगोल र प्रकृतिले अनुपम उपहार डडेलधुराबासीलाई दिएको छ तर बोलीले मात्र सुन्दर रमणिय मनोरम भनेर पुग्दैन, डडेलधुरामा आउने बाह्य पर्यटक वा कामकाजी तथा डडेल्धुराकै स्थानीयलाई पनि अनुभूति हुने गरि विकासका पूर्बाधार संरचनाहरु निर्माण गरिनु पर्छ, अहिलेको अवस्थाबाट माथी उठाउन बिगतको विकास मोडेललाई परिस्कृत गर्दै र पाठ सिक्दै नयाँ ढंगले, नयाँ र प्रभावकारी योजनाका साथ राज्यका निकाय, राजनीतिककर्मी, निजी क्षेत्र, सञ्चार क्षेत्र र आम जनसमुदायले समान दायित्व बोध गरि समग्र विकासका आयामहरुमा ध्यान दिनु पर्दछ ।
क्रान्ति बिर पुरुष भिमदत्त पन्त, समाज सुधारक तथा बिचारक एनडि प्रकाश चटौत लगायत परिबर्तनका लागि लडेका अनेकौं व्यक्तित्व जन्माएको ऐतिहासिक जिल्ला, प्राकृतिक धार्मिक साँस्कृतिक पर्यटकिय क्षेत्र डडेल्धुरा जिल्लालाई यहाँको माटो तथा आकर्षण प्रति गौरब गर्ने आधार निर्माणका लागि यहाँका क्रियासिल ईमान्दार कृषक उद्यमी व्यवसायी र स्थानीय सर्बसाधारण जनताले संगठित र दुरगामी सोचका साथ योजना पुर्ननिर्माण तथा पहिचानका लागि सोच्न ढिलाई गर्नु हुँदैन ।