अखण्ड खबर
२६ अषाढ २०७९ डडेल्धुरा
चतुर्मास ब्रत आरम्भ हुने सबै भन्दा ठूलो ब्रतको रुपमा रहेको हरिशयनी एकादशी आज घरघरमा तुलसीको बिरुवा तुलसी मठमा सारेर हिन्दु महिलाहरुले भव्य रुपमा मनाएका छन ।
हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन त्रिलोकपति भगवान विष्णुको प्रतीकका रुपमा मानिने तुलसीलाई घर घरमा तुलसी स्थानमा नयाँ बिरुवा सारी चार महिना सम्म पाक्षिक रुपमा ब्रत बसी नियमित जल सिञ्चित गरि विशेष पूजा आराधना सहित बिधिवत रुपमा शुरु भएको मान्ने परम्परा रहिआएको छ ।
हरिशयनी एकादशी देखि कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिनसम्म सनातन वैदिक परम्परा अनुसार तुलसीको नियमित पूजा गरि बरबधुको विवाह जस्तै तुलसी र दामोदरको बैदिक संस्कृति अनुसार विशेष पूजा भई विवाह गरि एकादशी ब्रतको उद्यापन पनि गरिन्छ ।
भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले चार महिनालाई चतुर्मासा पनि भनिन्छ, आजका दिन ब्रतालु भक्तजनहरुले चामलजन्य परिकार वा भोजन नगर्ने, चोखो खाने शुद्ध बस्त्र लगाउने जस्ता बिभिन्न धार्मिक तथा सत्संग गतिबिधिहरु गरेर चर्तुमासको प्रारम्भ गर्ने गरेका छन ।