अखण्ड सम्बाददाता
७ श्रावण २०८१ डडेल्धुरा
डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तह र संघ तथा प्रदेश कार्यालयको वार्षिक प्रगति समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीको सभापतित्व र सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय सरस्वती खडकाको प्रमुख आथित्यतामा जिल्ला स्थित ६ स्थानीय तह र संघ तथा प्रदेश मातहतका अधिकांश कार्यालयहरुले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को विनियोजित बजेट, योजना तथा कार्यक्रमहरु सहित कार्य सम्पादन माथी छलफल गरि सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति डडेल्धुराको आयोजनामा कृषि ज्ञान केन्द्र डडेल्धुराको सभा हलमा सम्पन्न समिक्षा गोष्ठिमा स्थानीय पालिका र जिल्ला स्थित सरकारी बिभिन्न कार्यालयहरुले कार्यालयबाट भए गरेको खर्च, स्थानीय तहमा रहेका संभावना, पालिकाले भोग्नु परेका समस्याहरु, चुनौती र आगामी दिनमा गर्नु पर्ने कार्यहरुको बारेमा जानकारी पनि गराएका छन ।
कार्यक्रमको प्रस्तुतिमा सिमित बजेट तथा श्रोतसाधनमा जनताका असिमित आकांक्षाहरु संबोधन गर्नु कठिन विषय रहेकोले माग अनुसारको आवश्यक बजेटको व्यवस्था गर्न संघ तथा प्रदेश सरकारलाई अनुरोध सहित आन्तरिक श्रोत बढाउन र व्यवस्थित रुपले कार्यसम्पादन गर्नु पर्ने विषयमा जोड दिएका छन ।
कार्यक्रममा प्रमुख अथिति खडकाले जनताका साना साना कामहरुमा कर्मचारीको हातमा रहेको बताउँदै स्थानीय तह अधिकार र श्रोतसाधनले सम्पन्न नभए सम्म आम जनताको अपेक्षा पुरा हुन नसक्ने बताएका छन ।
पालिकाले स्थानीय सभाबाट पारित गर्ने विषय सानासाना हुने तर देखिने खालका कामहरु नहुँदा योजना तथा कार्यक्रमहरुको कार्यान्वयन जोखिमपूर्ण रहेकोले जनतामा विश्वसनिय बाताबरण बन्न नसकेको प्रति पनि चिन्ता व्यक्त गरिएको छ ।
